धादिङ, चैत्र २२
राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष माननीय देवराज विश्वकर्मा, नीलकण्ठ नगरपालिकाका उप-प्रमुख दिपक विश्वकर्मा र पूर्व सचिव मानबहादुर विश्वकर्मा लगायतका पदाधिकारीले रुवी भ्याली गाउँपालिका भ्रमण गर्नुभएको छ ।
भ्रमणका क्रममा रुवी भ्याली गाउँपालिका वडा नम्बर ३ सेर्तुंङमा रहेका दलित बस्तीका दलित परिवारसँग भेट गरी त्यहाँ रहेका दलितका समस्या सुनेर समाधानको उचित सम्बोधन गर्ने विश्वास दिलाउनु भएको छ ।
भेटघाटका क्रममा उब्जिएका समस्याहरू दलित समुदायले आफूसम्म ल्याई पुर्याउन नसकेकोमा गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नु भयो , ‘ यो समस्या आएको छ अब यसको शीघ्र समाधान हुन्छ, कार्यपालिकामा दलित महिला सदस्य हुनुहुन्छ उहाँमार्फत तपाईँहरूको समस्याको सुनुवाइ हुन्छ । ‘

भेटघाटका क्रममा नीलकण्ठ नगरपालिकाका उप-प्रमुख दिपक विश्वकर्माले समस्या लिएर आफ्नो पालिका सम्म पुगेर समाधान खोज्न आग्रह गर्नुभयो । उहाँले बिचमा पढाई नछाड्न र आफूसँग भएको सिपलाई बढाउँदै प्रविधि सँग जोड्न समेत सुझाव दिनुभयो ।
समाजमा व्याप्त रहेको कुरीतिलाई जरैदेखि उखेलेर सुन्दर समाजको निर्माण गर्नुपर्नेमा राष्ट्रिय दलित आयोग नेपालका अध्यक्ष माननीय देवराज विश्वकर्माले जोड दिनुभयो । विश्वकर्माले देशमा बनेको कानुन लाई कार्यान्वयन गर्न गराउन पनि तल्लो तहबाटै जागरूक हुनुपर्ने बताउनुभयो ।
पालिकामा रहेका दलितका समस्या बुझ्न रुवी भ्याली पुगेको टोलीलाई गाउँपालिका अध्यक्ष रामसिंह तामाङ, उपाध्यक्ष फेलामा तामाङ र वडा अध्यक्ष फेदोर्जे तामाङ लगायतका जनप्रतिनिधिहरूले स्वागत गर्नुभएको थियो ।
