धादिङ १९– माघ,
पछिल्लो समय जेनजि आन्दोलनसँग जोडिएका युवाहरूले बालेन्द्र शाह (बालेन) ले आफूहरूलाई धोका दिएको आरोप सार्वजनिक रूपमा लगाउन थालेका छन्। परिवर्तन, प्रतिरोध र प्रणाली सुधारको प्रतीक मानिएका बालेन निर्णायक घडीमा मौन बसेको र आन्दोलनलाई भर्याङ बनाएर आफुलाई प्रधानमन्त्रि बनाउन लागेको भन्दै युवामाझ असन्तुष्टि चर्किँदै गएको हो।
जेनजि आन्दोलनका सहभागीहरूका अनुसार सडकदेखि सामाजिक सञ्जालसम्म चलेको संघर्षमा बालेनको नाम प्रयोग भयो, तर आन्दोलनलाई संस्थागत दबाबमा रूपान्तरण गर्ने बेला उनी पछि हटे। “आशा देखाइयो, तर साथ दिइएन” भन्ने भावनाले अहिले युवामाझ नेतृत्वप्रतिको अविश्वास गहिरिँदै गएको देखिन्छ। यही कारण बालेनमाथि ‘धोका’को आरोप तीव्र बन्दै गएको छ।
यही असन्तुष्टिलाई आधार बनाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भ्रम फैलाउने राजनीति गरिरहेको आरोप पनि उठ्न थालेको छ। विश्लेषकहरूका अनुसार बालेन र जेनजि को आक्रोशलाई जोडेर रास्वपाले आफ्नै राजनीतिक एजेन्डा अघि बढाउन खोजिरहेको छ। वास्तविक मुद्दाभन्दा भावनात्मक नारालाई प्राथमिकता दिँदै युवाको असन्तुष्टिलाई राजनीतिक पूँजीमा बदल्ने प्रयास भइरहेको टिप्पणी गरिएको छ।
विशेषगरी ‘प्रधानमन्त्री बालेन’ बनाउने चर्चा र अभियानलाई लिएर गम्भीर प्रश्न उठेको छ। राजनीतिक वृत्तमा “के २००७ सालदेखि २०७५ सालसम्म भएका आन्दोलन र बलिदानहरू केवल एक व्यक्तिलाई प्रधानमन्त्री बनाउने उद्देश्यका लागि थिए?” भन्ने बहस चर्किन थालेको छ। जेनजि बलिदानलाई व्यक्तिगत महत्वाकांक्षासँग जोडेर प्रस्तुत गर्नु इतिहास र संघर्षप्रति अपमान हुने टिप्पणीहरू पनि आएका छन्।
जेनजि आन्दोलन सामूहिक चेतना, प्रणाली सुधार र उत्तरदायित्वका लागि उठेको भए पनि त्यसलाई व्यक्ति केन्द्रित बनाइँदा आन्दोलनको मर्म कमजोर हुने सरोकारवालाहरूको चिन्ता छ। बालेनलाई परिवर्तनको प्रतीक बनाउँदै ‘प्रधानमन्त्री’को सपनासँग जोड्ने रास्वपाको कथनले राजनीतिक यथार्थभन्दा भ्रम सिर्जना गरिरहेको आरोप थप बलियो बन्दै गएको छ।
युवाहरूको आक्रोश, बालेनप्रतिको मोहभंग र रास्वपाको प्रचार रणनीति—यी सबैले अहिलेको राजनीति झन् अन्योलतर्फ धकेलिएको देखिन्छ। प्रश्न अब स्पष्ट छ—यो आन्दोलन प्रणाली बदल्न उठेको हो, कि नयाँ अनुहारमार्फत पुरानै राजनीति दोहोर्याउने माध्यम बन्दैछ? यसको जवाफ नारा होइन, जिम्मेवार व्यवहार र स्पष्ट राजनीतिले मात्र दिनेछ
