बालेन शाहः पतन भएको फरिश्ता कि चेतना फैलाउने “प्रकाश”

डा. निकोलस भुसालले काठमाडौँका मेयर बालेन शाहलाई “लुसिफर” भनेपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा यो प्रश्न अल्झिएको छ । बाइबलको अनुसार लुसिफर पतन भएको फरिश्ता हो, तर लाटिनमा यसको अर्थ फेरि “प्रकाश ल्याउने” पनि हुन्छ । डा। भुसालका अनुसार, बालेन सहर व्यवस्थापनमा कठोर, नियम तोड्ने र परम्परागत राजनीतिक प्रणालीसँग जुध्ने शैलीका पात्र हुन् — उनी “पतन भएको फरिश्ता” जस्तो देखिन्छन् । तर समर्थकहरू भने बालेन भ्रष्ट राजनीतिक अन्धकार तोड्ने, सत्य बोल्ने र जनचेतना फैलाउने “प्रकाश” हुन् भनेर विश्वास गर्छन् ।

यो टिप्पणी केवल व्यक्तिगत आलोचना मात्र होइनस यो नेपालको नयाँ पुस्ताको राजनीतिक चेतना र सामाजिक बहसको सङ्केत पनि हो । बालेनको शैली र निर्णय प्रणाली पुरानो राजनीतिक सोचसँग मेल खाँदैन । यही कारणले कतिपयले उनलाई विद्रोही र क्रान्तिकारी पात्रको रूपमा हेर्ने गर्छन् ।

नेपालमा मिडियाद्वारा भ्रम फैलाउने क्रम तीव्र छ । बालेनले आरोप बेवास्ता गरे पनि, आफ्नो पक्ष जनतालाई स्पष्ट पार्न नसके आफूलाईनै अप्ठ्यारो पर्न सक्छ । लगातार एकतर्फी खनिई रहँदा विरोध अझै मजबुत बन्न सक्छ । त्यसैले वैचारिक स्पष्टीकरण र सार्वजनिक संवाद अपरिहार्य छ ।

डा। भुसाल स्वयं पनि विवादास्पद व्यक्ति हुन् । उनले राजनीतिक आकांक्षा राख्दै सामाजिक सञ्जालमा सक्रिय रूपमा विचार व्यक्त गर्छन् । विगतमा उनले रवि लामिछाने विरुद्ध आरोप लगाएका र पछि माफी मागेका घटना पनि छन् । व्यक्तिगत दृष्टिले हेर्दा, डा। भुसाल स्पष्ट भिजन भएका र क्रान्तिकारी विचारका व्यक्ति हुन्, तर आफैँ स्पष्ट हुन नसक्दा उनका राम्रा पक्षहरू पनि ओझेलमा परेका छन् ।

यदि यो प्रसङ्ग कुनै राजनीतिक दलले उठाएको हो भने यो बुझ्न जरुरी छ कि समय परिवर्तनशील छ । जनता अब कुनै एउटै पार्टीमा सीमित छैनन्, र आरोप–प्रत्यारोपको परिपाटि बुझ्ने छन् र छिट्टै त्यस्ता प्रबित्तिको छवि ध्वस्त पार्न बाटोमा तिनै जनता लाग्ने छन् । पारदर्शिता, तथ्य, स्पट भिजन र संवाद अब दीर्घकालीन समर्थनको प्रमुख आधार बन्ने छ ।

यस सम्पूर्ण घटनाले यो देखाउँछ कि नेपालमा राजनीतिक विमर्श केवल पद वा पार्टीसम्म सीमित छैन । बालेन “प्रकाश ल्याउने” प्रतीक बनेका छन् भने डा। भुसाल स्वतन्त्र विचारको सीमा परीक्षण गर्दै छन् । दुवैले नेपालमा प्रश्न गर्ने, चुनौती दिने र पुरानो प्रणाली सुधार्ने पुस्ताको उदय पुष्टि गरी रहेका छन् । अब भ्रमको राजनीति केवल पतनको मार्ग हुनेछ ।

यो प्रसङ्ग केवल दुई व्यक्तिको विवादको विषय होइन — यो परिवर्तनशील समाजमा विचार, विश्वास र सत्ता बिचको द्वन्द्वको प्रतिनिधित्व हो । बालेन र डा। भुसाल दुवैले स्पष्ट बनाएका छन् कि नेपाल अब मौन पुस्ताको होइन, सक्रिय र प्रश्न गर्ने पुस्ताको देश बन्दै छ ।

Related posts

Leave a Comment