धादिङ, २०– असोज
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५, थापाकठेरीमा गएराति एक जनाले आफ्नै आमाको हत्या गरेका छन्।
३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रयोग गरी ६३ वर्षीया आमा राममाया कँडेलको निर्मम हत्या गरेका हुन्। घटनास्थलमै पुगेका प्रहरीका अनुसार यमबहादुरले आमामाथि धारिलो हतियार प्रहार गरी शरीर टुक्रा हुनेगरी हत्या गरेका थिए।
हत्या पछि घटनास्थलमै उपस्थित प्रहरी टोलीले उनलाई आत्मसमर्पण गर्न आग्रह गरेको र उनले आफ्नै हातमा रहेको हतियार भुइँमा राखेर आत्मसमर्पण गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
घटनापछि सल्यानकोट प्रहरी चौकीबाट खटिएको टोलीले उनलाई पक्राउ गरी आइतबार राति नै जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार हत्या गर्ने यमबहादुर कँडेल केही समयअघि सामाजिक सञ्जालमा “जेन्जी आन्दोलन” का गतिविधिका कारण चर्चामा आएका थिए।
आफ्नै आमाको हत्या गर्नेमागको कारण भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
