तीज –केवल एउटा पर्व होइन, यो नेपाली महिलाको मनको गहिराइमा बस्ने भावना हो । शिव–पार्वतीको अटल प्रेम र त्यागको सम्झनामा गरिने यो व्रत, अतीतदेखि वर्तमानसम्म, महिलाको आस्था, श्रद्धा र स्नेहको अद्भुत प्रतीक रहँदै आएको छ। बिहानको शुद्ध स्नान, रातो सारीमा सजिएकी आमा–दिदी–बहिनीहरूको रमाइलो भीड, आँगनमा गाइने भक्ति–गीत र पूजाको शान्त वातावरण–यी सबैले तीजलाई एउटा आध्यात्मिक सौन्दर्य दिन्थे ।
तर आज त्यो सौन्दर्य धुमिल बन्दै छ। तीजको नाममा हुने होहल्ला, भड्किला गीत, फेशन प्रदर्शन र महँगो भोज–भतेरले त्यो पवित्र भावनालाई क्रमशः विस्थापित गर्दैछन्। पहिले जहाँ भक्ति र संकल्पको स्वर गुञ्जिन्थ्यो, अहिले त्यहाँ बजारु बोल, अश्लील लय र देखावटी प्रतिस्पर्धाको ध्वनि सुनिन्छ। त्यो प्रतिस्पर्धा कहिलेकाहीँ यति तीव्र हुन्छ कि, कोसँग महँगो गहना, कोसँग भव्य पोशाक-यही नै मुख्य विषयजस्तो देखिन थाल्छ।

यसो भन्दैमा आधुनिकता गलत भन्ने हुँदै होइन । समयसँगै गीत, भेषभूषा र उत्सवको तरिका बदलिन सक्छन्। तर त्यो परिवर्तनले संस्कृतिको जरा नै काट्ने हो भने त्यो सुधार होइन, विकृति हो। तीजले दिन्थ्यो—संयमको पाठ, सम्बन्धको माया, धर्म र संस्कारको शिक्षा। हामीले केवल एउटा सानो इभेन्टमा यसलाई जोड्यौँ एस भित्रको गहिरो ज्ञानलाई बुझ्न सकेनौँ । हामीमा त्यो परम्परा रहेन वास्तविकतालाई रुढिवादि सोच सँग दाँज्यौँ अरूले थोपरी दिएको कार्यक्रमलाई अपनाउन थाल्यौँ । सहजताको नाममा फोहोरका डङ्गुर अपनायौँ भने हामीसँग केवल रद्दी हुनेछ । हामीले आगामी पुस्तालाई आफ्नो अनुहारको छाया समेत हुने छैन उपहार दिनको लागि । यदि हामीले यही आत्मालाई गुमायौं भने, बाँकी रहनेछ केवल एउटा ‘इभेन्ट’—जहाँ मन होइन, केवल शरीर मात्र नाच्नेछ।
अब पनि समय छ—तीजलाई फेरि आफ्नै मौलिक रुपमा फर्काउन। गहना र कपडाको चमकभन्दा मनको उज्यालो ठूलो हो भन्ने कुरा सम्झन। आधुनिकताको मिठास राख्दै संस्कृतिको सुगन्ध जोगाउन। किनकि तीज हाम्रो मात्र होइन, हाम्रो सन्तानको पनि धरोहर हो—जसलाई विकृति होइन, विरासतका रूपमा सुम्पिनु पर्छ।
