नेत्रावती डवजोङ गाउँपालिका कार्यसम्पादन मुल्याङ्कनमा देशैभरको गाउँपालिका मध्ये उत्कृष्ट

धादिङको नेत्रावती डवजोङ गाउँपालिका कार्यसम्पादन मुल्याङ्कनमा देशैभरको गाउँपालिका मध्ये उत्कृष्ट गाउँपालिका बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा नेत्रावती डवजोङ गाउँपालिका देशभरकै गाउँपालिका मध्ये पहिलो बनेको हो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगले गरेको १७ वटा सुचकको आधारमा नेत्रावती डवजोङ गाउँपालिकाले ७८.२ अंक प्राप्त गरेको प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहले बताउनुभयो ।

‘नेत्रावती डवजोङ गाउँपालिका बागमती प्रदेशमा पहिलो र देश भरका स्थानीय तहहरुमा तेस्रो बनेको हो । तर गाउँपालिका मध्ये भने देशभरकै उत्कृष्ट पालिका बनेको हो । नेत्रावती डवजोङ गाउँपालिकासँगै स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले समान ७८.२ अंक प्राप्त गरेको छ’ उहाँले भन्नुभयो ।

यो नतिजाले काम गर्न थप हौसला थपेको नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनुभयो। उहाँले भन्नुभयो – ‘नागरिकको चाहना अनुरुप काम गर्दै आएका छौं । कार्यसम्पादन मूल्याङ्कनमा पालिकाले उत्कृष्ट नतिजा निकालेको छ । गाउँपालिकाबासी, कर्मचारी तथा सबै जनप्रतिनिधिप्रति हार्दिक आभारी छौँ ।’

स्थानीय नागरिक, कर्मचारी, जनप्रतिनिधि तथा सहयोगी संघसंस्थाको साथ र सहयोगले यो नतिजा हासिल भएको नेत्रावती डवजोङ गाउँपालिकाका उपाध्यक्ष सितामाया गुरुङले बताउनुभयो । ‘उत्तरी क्षेत्रमा रहेको नेत्रावती डवजोङ गाउँपालिकामा काम गर्न चुनौतिहरु धेरै नै छन् । सँगसँगै अवसरहरु पनि छन् । यो नजिता हासिल गर्न सहयोग र भूमिका खेल्नुहुने सबैप्रति सम्मान र धन्यवाद छ’ उहाँले भन्नुभयो ।

नेत्रावती डवजोङ गाउँपालिकाले गत वर्ष बेरुजुमा राम्रो काम गरेर उत्कृष्ट बनेको गाउँपालिकाका प्रवक्ता ठाकुर गुरुङले बताउनुभयो । नेत्रावती डवजोङ गाउँपालिकाले कार्य सम्पादन, विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा निकै फड्को मारेको छ । उहाँले भन्नुभयो– ‘कर्मचारीको उत्कृष्ट कार्यसम्पादन र जनप्रतिनिधिहरुको नेतृत्व र समन्वकारी भूमिकाले गाउँपालिका उत्कृष्ट बनेको हो ।’

त्यस्तै, धादिङको नीलकण्ठ नगरपालिकाले ७६.५, बेनिघाट रोराङ गाउँपालिकाले ७४. ४, गंगाजमुना गाउँपालिकाले ६१.९, गल्छी गाउँपालिकाले ६०.७, ज्वालामुखी गाउँपालिकाले ५९.१, सिद्धलेक गाउँपालिकाले ५७.६, धुनीबेशी नगरपालिकाले ५५.९, थाक्रे गाउँपालिकाले ५५.६, त्रिपुरासुन्दरी गाउँपालिकाले ५५.३, गजुरी गाउँपालिकाले ५४.४, खनियाबास गाउँपालिकाले ५२.७ र रुवीभ्याली गाउँपालिककाले ४८.८ अंक प्राप्त गरेका छन् ।

स्थानीय तहलाई संघीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदानअन्तर्गत कार्यसम्पादन मूल्याङ्कनका आधारमा अनुदान सिफारिसका लागि आयोगले कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ ।

कार्यसम्पादन मूल्याङ्कन गर्दा आयोगले स्थानीय तहसँग तथ्याङ्कहरू माग गर्दछ । त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अङ्क प्रदान गर्दै आएको छ ।

Related posts

Leave a Comment