सांस्कृतिक कार्यक्रमको नाममा चुनावी प्रचार गर्दै धमला

धादिङ १९ माघ

नेत्रावती डब्जोङ गाउँपालिकामा प्रथम ऐतिहासिक डब्जोङ दरबार मेला–२०८२ तथा २८६२औँ सोनाम ल्होसार (त ल्हो) को अवसरमा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार नेत्रावती डब्जोङ स्थित सेमजोङ मा सम्पन्न कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपाल सरकारका आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री दिलमान पाख्रिन सहभागी रहेका थिए ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष मेगनाथ रिजाल , उपाध्यक्ष सितामया चोदेन , वडा नं ३ का अधक्ष्य सुरेश वाइबा लगायतको विशेष आतिथ्यता रहेको थियो ।

डब्जोङ दरबार संरक्षण तथा प्रवद्र्धन समितिका अध्यक्ष टीकाराम वाइबाको सभापतित्वमा सम्पन्न कार्यक्रम धनबहादुर तामाङले सञ्चालन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मन्त्री पाख्रिनले डब्जोङ दरबार ऐतिहासिक सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवद्र्धनमा सरकारको सहयोग रहने बताए ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेसका नेता तथा धादिङ निर्वाचन क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार रमेश धमलाले आगामी निर्वाचनमा कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न आग्रह गरेका छन्। “धादिङ जिल्लाको २ नम्बर निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसको रूख चिन्ह लिएर म रमेश धमलालाई यहाँहरूको बीचमा पठाएको छ। “ उनले भने, “ नेपाली कांग्रेसको केन्द्रीय समितिले एक स्वरले, एक मनले हामीहरू सबैले गगन थापालाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेर नेपाली जनताको बीचमा मत माग्न हामी आइरहेका छौं।“

कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरेका थिए भने मेलामा ठूलो संख्यामा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।

Related posts

Leave a Comment